काठमाडौ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पूष्पकमल दाहाल ‘प्रचण्ड’ले रामवीरले छोड्ने र बामदेवले चुनाव लड्ने कुरा समाप्त भएको बताएका छन् ।

शुक्रबार बिहान आलापोटमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले रामवीरले काठमाडौ ७ मा छोड्ने र वामदेव चुनाव लड्ने चर्चा धेरै भएको भन्दै त्यो प्रशंग नै समाप्त भएको बताएका हुन् ।

‘जहाँसम्म यहाँ चर्चा चल्यो रामवीरको राजीनामा, वामदेव चुनाव लड्ने, केके केके यसमा केही टेन्सन तपाईंहरु नलिनुस् । पार्टी छ पार्टीले निर्णय गर्छ । अहिले त्यो लफडातिर हामी लाग्दैनौँ अब,’ प्रचण्डले बताए ।

विकास निर्माण छाडेर यो लफडामा नलाग्ने भन्दै उनले भने, ‘हिजोबाट त बामदेवजीले म लड्दिन भन्नुभयो कुरा सक्कियो ।’

हामी डुव्दा सबै डुब्ने खतरा 
अध्यक्ष प्रचण्डले वर्तमान सरकार र नेकपाप्रति आम जनताको विकास र सम्बृद्धिप्रति ठुलो आशा र भरोसा रहेको भन्दै त्यो भरोसालाई साकार पर्नुपर्ने बताए ।

‘हामीले केही समययता नेपालको राजनीतिक र सामाजिक परिघटनाहरु देखेका भोगेका छौँ । संविधानसभा एकपटक हुने हो । राजतन्त्रबाट गणतन्त्रमा जाने पनि एक राष्ट्रका लागि एकपटक हो । त्यस घटनाका हामी साँछी बन्यौ । राजनीतिक अस्थिरता अन्त्य गर्न भनेर नै कम्युनिष्ट पार्टीको एकता गरेर मुलुकलाई दुई मुल कम्युनिष्ट पार्टीलाई एक बनाउने संकल्प गर्यौ र पार्टी एकता गर्यौँ,’ प्रचण्डले राजनीतिक स्थिरता र सम्बृद्धिका लागि दुई पार्टी एक भएको दावी गरे ।

उनले यो एकता अवसर र चुनौती दुवै भएको भन्दै त्यसैअनुसार सरकार सञ्चालन गर्नुपर्ने बताए । प्रधानमन्त्री र आफुबीच यहि विषयमा पहिला नै छलफल भएको भन्दै सुशासन, शान्ति र सम्बृद्धि प्रदान गर्नुको विकल्प नभएको बताए ।

‘यदि हामीले त्यसो गर्न सकेनौ भने, बहुमतको सरकार, पार्टी एकता, हिजो दुई पाटी नभए अर्कोले गर्छ भन्ने हुन्थ्यो भने अव त्यो अवस्था रहँदैन । त्यो ठाउ हामीले सकिदियौं । एउटै पार्टी बनाइएको छ । देशभर जनताको ठूलो भरोसा र विश्वास छ । हामी डुव्दा त एकैपटक सवै डुब्ने खतरा हुन्छ,’ प्रचण्डको भनाई छ ।

प्रधानमन्त्री र मेरो संकल्प
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली र आफुबीच काठमाडौ उपत्यका भित्रका सडकसमस्या केही समयभित्रै सल्ट्याउने संकल्प भएको बताएका छन् । ‘प्रधानमन्त्री जी र मेरो एउटा संकल्प छ । कि सभवन्दा पहिला काठमाडौ उपत्यकाभित्रका मुल सडकहरु केही महिनाभित्र अर्को बर्ष कुर्नु नपर्नेगरी पचि गरिसक्ने र काठमाडौ नयाँ बनाएपछि नेपाल नयाँ बनाउने प्रकृया सुरु हुन्छ । यो संकल्प हामीले गरेका छौ’ अध्यक्ष प्रचण्डले भने,‘ केहि महिनापछि म फेरि यहाँ आउादा पिच भएर सरर आउने बाताबरण बन्छ यो तपाइहरुसँग विश्वस व्यक्र गर्न चाहान्छु ।’

देशभर विकासको गति दिनुपर्ने अवस्था आएको भन्दै प्रचण्डले मोटरबाटो, रेल हवाइ जस्ता कनेक्टिभिटीको सिद्धान्त अनुसार गति बृद्धि गर्दै अघि बढने सरकारको तयारी रहेको बताए ।

महत्वपुर्ण काम सुरु 
निर्वाचनपछि सरकार बनेको सात महिनाको अबधिमा महत्वपुर्ण विकासका काम सुरु भएको प्रचण्डले बताए । उनले नेपालको भावी विकासमा नेपाल र भारतसँगको सम्बन्धले चित्र दिने भन्दै प्रचण्डले त्यो चित्र हालै प्रधानमन्त्री ओलीको चीन र भारत भ्रमणले प्रश्ट पारेको भन्दै सयौ वर्षदेखिका समस्या समाधानतर्फ अघि बढेको बताए ।

प्रधानमन्त्रीको भारत र चीन भ्रमणका क्रममा भएका दुईपक्षीय समझदारी र सहमतिले नेपालको विकासको बाटो खोलेको प्रचण्डको भनाई छ । प्रचण्डले भने, ‘एउटा भुपरिवेष्टित देश दुइवटा विशाल छिमेकीको विचमा छ । उनीहरुसँगको सम्बन्ध र नेपालको विकासकोबीचमा गहिरो अन्र्तसम्बन्ध छ ।’