एजेन्सी- एडिस अबाबामा एक व्यक्तिको पेटको शल्यक्रियाको क्रममा पेट भित्र जे भेटियो त्यसले चिकित्सकहरुलाई चकित बनाइदिएको छ। शल्यक्रियाको क्रममा एक पुरुषको पेटबाट १०० भन्दा धेरै किला र धार भएका हतियार भेटिए पछि चिकित्सकहरु समेत चकित परेका छन्।

यस खबरलाई अन्तराष्ट्रिय संचार माध्यमका आनलाइन संस्करणहरुले प्राथमिकताका साथ सम्प्रेषण गरेका छन्। एक ३३ वर्षीय मानसिक रोगिलाई इथियोपियाको एडिस अबाबा सहरको सेन्ट पीटर स्पेशलाइज्ड हस्पिटलमा भर्ना गरिएको थियो।
पेट दुखेको कारण अस्पतालमा भर्ना गरिएका युवकको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया लगभग २।५ घण्टा चलेको थियो। प्राप्त जानकारी अनुसार पिडित पुरुष गत १० वर्ष देखि मानसिक रोगि रहेका थिए।

उनको पेटबाट १० सेन्टिमिटरका १२२ किला निकालिएको थियो। साथै चिकित्सकहरुले चार पिन, एक टूथपिक र धेरै फुटेका सिसाका टुक्रा पनि निकालेका थिए।
पिडित युवकले पानिसँग मिलाएर यी सबै पिएको हुन सक्ने चिकित्सकहरुले अनुमान लगाएका छन्। यसरी धारिलो वस्तुहरु पेटमा हुँदा संक्रमण हुन सक्ने सम्भावना हुन्छ। तर ती पुरुषको पेटका खासै संक्रमण नभएको कुराले चिकित्सकहरु अझ धेरै चकित भएका थिए।