काठमाडौं, १४ कात्तिक । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले अब नयाँ ढंगले राजनीतिक संघर्ष गर्ने बताएका छन् ।

बुधबारदेखि राजधानीमा सुरु भएको पार्टीको १५ औं संघीय बैठकको उद्घाटनमा संयोजक डा. भट्टराईले जनतालाई आर्थिक विकास र समृद्धि दिनका लागि अब नयाँ ढङ्गले राजनीतिक संघर्ष गर्ने बताएका हुन् । उनले नेपाली काँग्रेस तथा सत्तारुढ दल नेकपा पनि एक खाले संघर्ष गरेर आएको र ती पार्टीहरुको राजनीतिक विचार पुरानो भएकोले नेपाली जनताले अहिले नयाँ खाले विचारको खोजी गरिरहेको उल्लेख गरे ।

उनले आफूहरुले सशस्त्र संघर्ष नगर्ने तर फरक ढङ्गले जनयुद्ध गर्ने बताउँदै भने, ‘भूमिगत कालको जनयुद्ध गर्दा जुन प्रकारका कठिनाइहरु हामीले भोग्यौं, दृढतापूर्वक लाग्यौं र त्यसलाई निश्कर्षमा पुर्‍याएका थियौं । अब त्यो भन्दा महान, त्यो भन्दा उन्नत प्रकृतिको एउटा संघर्ष अब हामी गर्दैछौं ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले देशलाई आर्थिक विकासको गतिमा लान कुनै पनि शक्ति नआएको र नेपाली जनताको चाहना पूरा गर्ने जिम्मेवारीसहित नयाँ शक्ति आएको जिकिर गरे ।

नयाँ शक्तिको संघीय बैठक दुई दिनसम्म चल्नेछ ।